काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो ।अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए । ‘शीतल’ले प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीले आदेश गरेको छ ।
टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।गत शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।