काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले सहयोग मागेका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकर तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुसँगको छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् ।
अर्थतन्त्र राम्रो भयो भने बैंक फाइदामा जान्छ, लगानीको वातावरण राम्रो हुन्छ । अर्थतन्त्र वृद्धि हुन्छ,’ उनले भने, ‘यसले सरकारलाई पनि राम्रो गर्छ, राजस्व बढ्छ ।सरकार, निजी क्षेत्र र बैंक मिलेरै यस्तो वातावरण बनाउन सकिने उनको भनाइ छ । ‘सबै मिलेर काम गरौं, हामी पनि एक अर्कालाई सघाउने हो,’ उनले भने बैंकरले टास्क फोर्सको माग गरेको सन्दर्भमा उनले सरकारले त्यसलाई मध्यनजर गर्ने बताए । निजी क्षेत्रको गुनासोबारे बोल्दै उनले भने, ‘तरलता छ, पैसा, रेमिट्यान्स बढेको छ, पर्यटक बढेको छ, तर, आर्थिक गतिविधि बढेन, लगानी बढेन ।
रियल इस्टेटमा गएको लगानी समस्यामा परेको सन्दर्भ निकाल्दै उनले स–साना प्लटिङ धेरैमा लगानी जाँदा समस्या आएको बताए । आफ्नो लागि मात्र जग्गा किन्न नभई डेढ गुणा बढ्छ, दुई गुणा बढ्छ भन्ने लोभमा गरिएका स–साना लगानीले बढी समस्या निम्तिएको उनको भनाइ छ । यसलाई सल्टाउन कित्ताकाट खुला गरिएको उनले बताए ।निर्माण क्षेत्रको आन्दोलनबारे बोल्दै उनले यसमा भने धेरै समस्या नरहेको बताए । जेठ र असारमा मात्र झण्डै ७० अर्ब भुक्तानी गरिएको र अब ७/८ अर्ब बाँकी रहेको भन्दै उनले यो रकम समेत प्रक्रिया मिलाएर भुक्तानी गरिने उनको भनाइ छ ।