नेपालगन्न बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्टमा समस्याग्रस्त पोथीबाघलाई संरक्षणमा राखिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ५ गेरुवानीमा स्थानिय २ जनालाई आक्रमण गरी मारेपछि उक्त बाघलाई निकुञ्जको संरक्षणमा राखिएको हो । उक्त समस्याग्रस्त पोथीबाघलाई गत आर्थिक वर्षको ०७९ मा सल्यानको कालिमाटी गाउँपालिका ७ स्थित स्वामीबास वन क्षेत्रबाट नियन्त्रणमा लिएर संरक्षणमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिंदा उक्त पोथीबाघ १२ वर्षको थियो । २ सय ६८ सेन्टिमिटर रहेको उक्त पोथीबाघको उचाई ९८ सेन्टिमिटर रहेको छ भने छातिको गोलाई ९४ सेन्टिमिटर रहेको छ । एक वर्षको अवधिमा बाघको स्वास्थ्य अवस्था पुर्ण रुपले राम्रो रहेको संरक्षण अधिकृत शाहले बताउनुभयो ।
उहाँका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दिपेन्द्र खड्का, हिरे प्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् । उक्त पोथीबाघको प्रत्यक्ष निगरानीमा खटिनु भएका गेम स्काउट दिपेन्द्र खड्का अनुसार संरक्षणमा राखिएको उक्त पोथीबाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैसीको मासु खुवाउने गरिएको छ । ‘भोकाएको अवस्था बुझेर तीन देखि पाँच दिनको फरकमा हामीले आहारको रुपमा भैसीको मासु दिने गरेका छौं ।’ उहाँले भन्नुभयो, ‘एक छाकमा १५ केजी मासु दिई रहेका छौं ।
बाघ बस्ने ठाउँलाई आवश्यकता हेरी सरसफाई गर्ने गरेको गेम स्काउट खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाघलाई राखिएको ब्लक ३ वटा रहेको छ । त्यो तीन वटा मध्य एउटामा बाघलाई थुनेर दुई वटा ब्लकलाई सफा गर्ने गर्छौं र सफा गरिएको ब्लकमा मासु राखिदिएर ऊ मासु खान गएको मौका छोपी फेरी ऊ बसेको ब्लकलाई सफा गर्ने गर्छौं ।बाघलाई आहार दिंदा भन्दा उसले गरेको फोहोर सफाई गर्दा खतरा हुने गेम स्काउट खड्काले बताउनुभयो । उहाँका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहीर पनि बाघ देखा पर्ने गर्दछन् ।
वन्यजन्तुका लागि बनाईएको उक्त होििल्डंग केजको क्षेत्रफल एक सय ८६ मिटर रहेको छ । उक्त पेरिमिटर भित्र तीन वटा ब्लकमा मांसाहारी वन्यजन्तु संरक्षणका लागि घर बनाईएको छ । सोही घरमा समस्याग्रस्त बाघलाई संरक्षणका लागि राखिएको छ । बाघलाई राखिएको पेरिमिटरको लम्बाई १२ मिटर ७० सेन्टिमिटर रहेको छ भने चौडाई ७ मिटर ७ सेन्टिमिटर रहेको छ । खैरी चेक पोष्टमा रहेको उक्त कार्नभोर्सको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गण अन्तरगर्त रहेको शिवखोला गुल्मले आवश्यकता अनुसार सेनाको सुरक्षा टुकडी खटाउने गरेको गणपति अशोक खड्काले जानकारी दिनुभयो ।