काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राप्रपासँग नमिल्दा कोशीमा अस्थिरता आएको बताएका हुन् । ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ता गरेर नयाँ समीकरण निर्माण गर्नुपर्दछ’ उनले भने ।कोशीमा तत्कालिन मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको मतको सहयोगमा विश्वासको मत लिएका थिए । तर सर्वोच्च अदालतले असंवैधानिक भन्दै उनको नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि हाल एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग ४७ सांंसद मात्र छन् । तर प्रदेशसभाको अध्यक्षता सत्तारुढ दलकै सांसदले गर्दा बहुमत पुग्न कठिन छ । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । पराजुलीले उनीहरुको समेत साथ लिनुपर्ने धारणा राखेका हुन् ।
पार्टीको अघिल्लो केन्द्रीय समिति बैठकमा आफूले वैदिक सनातन हिन्दुराष्ट्रको कुरा उठाउँदा सहमहामन्त्री फरमुल्लाह मन्सुरले लिङ्देनका भाइहरु भनेको भन्दै पराजुलीले उक्त भनाइ फिर्ता लिन मन्सुरलाई आग्रह गरे । ‘आज म उहाँलाई नेपाली बैदिक सनातन धर्मको इतिहास र किसुनजीको आदर्श सम्झेर उक्त भनाइ फिर्ता लिन आग्रह गर्दछु’, उनले भने ।
ADVERTISEMENT

