माओवादी युद्धका असरलाई विस्मृतिमा नछाड्न आह्वान \ स्मृति घोषणापत्र
zeenepal
२०८० मंसिर १५,
3
Shares
काठमाडौं। माओवादी र सरकारको सशस्त्र युद्धका क्रममा भएका विभिन्न घटनालाई समयक्रमसँगै बिर्सन खोजिएको भन्दै सरोकारवालाले त्यसो नगर्न आग्रह गरेका छन् । काठमाडौं स्मृति घोषणापत्र जारी गर्दै उनीहरुले विगतका हिंसापीडित र सम्बन्धित पात्रहरुबारे इतिहास राखिनुपर्ने माग गरेका हुन् ।बुधबार र बिहीबार राजधानीमा आयोजित प्रथम राष्ट्यिर स्मृति सम्मेलनपछि उनीहरुले स्थानीय सरकार समेतलाई पुराना सम्झनाहरु सुरक्षित गर्न, स्कुलमा पाठ्यक्रम बनाएर पढाउन आह्वान गरेको आयोजक राष्ट्रिय स्मृति सन्जालका राम भण्डारीले बताए ।
सम्मेलनमा प्राध्यापक अभि सुवेदीले राष्ट्रको इतिहासमा घटेको महत्वपूर्ण घटनासँगै जोडिएका विषयलाई किन जोगाएर राख्न आवश्यक छ भन्नेमा व्याख्यान दिएका थिए ।इतिहासको महत्वपूर्ण घटना, भोगाइ, अनुभवहरुलाई राज्यले बिस्मृतितर्फ लाँदै गरेको अवस्थामा हामी बिगतका हिंसाका पीडितहरू र सरोकारवालाहरु हातेमालो गर्दै स्थानीय र राष्ट्रिय रूपमा आफै स्मृतिलाई संरक्षण गर्न एकसाथ आएका हौं,’ सम्मेलनपछि सरोकारवालाहरुले घोषणापत्र जारी गर्दै भनेका छन्, ‘संक्रमणकालीन न्याय प्रकियामा स्मृति कार्यलाई प्राथमिकताका साथ सम्बोधन नगरिएको तथा विद्यमान औपचारिक तवरबाट गरिएका स्मृतिका कार्यहरु पनि एकपक्षीय, विवादास्पद देखिएका छन् ।
पीडित, समुदायका कथा र उनीहरुको दृष्टिकोणलाई योजनावद्ध रुपमा मौन बनाइएको अवस्थामा पीडित केन्द्रित र पीडितले नेत्तृत्व गरेका अनौपचारिक स्मृति कार्यहरुबाट पाठ सिक्दै औपचारिक स्मृतिका पहलहरु गर्न राज्यले आफ्नो दायित्ववोध बेलैमा गर्न आवश्यक छ ।उनीहरुले स्मृति बचाउन, पीडितका भाष्य स्थापित गर्न र जनताको इतिहास निर्माणमा उद्दत सरोकारवालाहरुको साझा बुझाई, अनुभव र पहलहरुको सामूहिक आवाज उठाउन प्रथम राष्ट्रिय स्मृति सम्मेलनको घोषणा पत्र जारी गरिएको बताए ।