पर्सा ।आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले देशका सम्पूर्ण भन्सार कार्यालयबाट ४५ प्रतिशत कमिसनबापतको पुरस्कार लिनेहरूको सूची सार्वजनिक गरिनुपर्ने बताएका छन् । पर्साको पोखरियामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका साहले भन्सार कमिसन भनेर कर्मचारीहरुको नाममा गुपचुपरुपमा रकम गइरहेको बताए ।‘पुरस्कारको नाममा निजी खाताहरूमा रकम गइरहेको छ । त्यो एउटा भ्रष्टाचार हो । होइन भने किन राज्यले पुरस्कारको सूची सार्वजनिक गर्न सक्दैन ?’, साहले भने । राम्रो नियतले कमिसन बापतको पुरस्कार दिएको हो भने राज्यलाई सूची सार्वजनिक गर्न किन आपत्ति हुन्छ भन्दै उनले यसले भ्रष्टाचार मौलाउने कार्यमा राज्यकै सहयोगी भूमिका पुष्टि हुने बताए । 'पुरस्कार लिने जति पनि कर्मचारीहरू छन् उनीहरूको नाम सार्वजनिक गर्नैपर्छ । पुरस्कार लिएर देशका लागि राम्रो योगदान दिने पुलिस र कर्मचारी हो भने गोप्य राख्न जरुरी हुँदैन’, उनको भनाइ छ ।
सो पार्टीको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै निरन्तर भन्सार विभाग घेराउ गर्दै आएको छ । पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो भन्ने विषय आम जनताले जान्न जरुरी रहेको भन्दै साहले दोहोर्याए, ‘यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो किनकि यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छ । यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ ।गत भदौ ३१ गते भन्सार विभागको महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरुवात गरेको सङ्घर्षको पहिलो चरण अन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रावधान जलाइएको, असोज १९ गते तराई–मधेसका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।तर नेपाल सरकारले कुनै सुनवाइ नगरेपछि बाध्य पार्टीले दोस्रो चरणको आन्दोलन गर्नुपरेको सो बताइएको छ । भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ ।

