प्रधानमन्त्रीले विश्वासको मत अघि लिखित सहमति एकीकृत समाजवादीको अडान
zeenepal
२०८० फाल्गुन २८,
3
Shares
काठमाडौँ — सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा विश्वासको मत अघि लिखित सहमति जनाउनुपर्ने अडान राखेको छ । एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा माओवादीले सारेका उम्मेदवारलाई भोट दिनु पहिल्यै प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने माग अघि सारेको हो ।
एकीकृत समाजवादीको सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग लिखित सहमति गर्नुपर्ने माग अघि सारेको प्रमुख सचेतक मेटमणि चौधरीले बताए । राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले सहयोग गर्ने उनको भनाइ थियो ।
पार्टीले अघि सारेका मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतको पक्षमा भोट हाल्न पार्टीका सांसद बाध्य नरहेको चौधरीको भनाइ थियो । ‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ ।
हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने, त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ,' चौधरीले भने, 'उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।दाहाल नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट दुई जना मन्त्रीले शपथ लिइसकेका छन् ।