वीरगंज - वीरगंजको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय फुड चेन ब्रान्डहरू केएफसी, पिज्जा हट र क्रिम बेल आइसक्रिमको शुक्रवार विधिवत् रूपले उद्घाटन गरिएको छ ।
स्काइलाइन मलको भुईँ तल्लामा सञ्चालित तिन वटै फुड चेन ब्रान्डहरूको शुक्रवार पूर्व मन्त्री एवम् सङ्घीय सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सांसद यादव र मेयर सिंहसँगै रहेका अतिथिहरू वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत शैलेन्द्र कुमार, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उद्योगपति राजेश अग्रवाल, रमेश अग्रवाल, युवा उद्यमी आकृति अग्रवाल, प्रतीक अग्रवाल, वीरगञ्ज – १० का वडाध्यक्ष सुशील कुमार कानु, हास्य कलाकार सन्दीप क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीलगायतले रिबन काटेर केएफसी, पिज्जा हट र क्रिम बेलको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् सङ्घीय सांसद यादवले आर्थिक नगरी वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको फुड चेनहरूको खुल्नु आफैमा ठूलो कुरा भएको बताए । महानगरको हैसियत पाएको लामो समय भए पनि अहिले भर्खर आएर नगरवासीले विश्व स्तरीय सेवाहरू पाउन थालेको जिकिर गर्दै उनले भने, ‘महानगर त घोषणा भयो तर यहाँ पूर्वाधारहरू थिएनन् । अहिले बल्ल आएर स्काइलाइन मल जस्ता पूर्वाधारहरू विकास हुँदै गएपछि यहाँका स्थानीयहरूले आफू महानगरवासी भएको अनुभूति गरिरहेका छन् ।’
यादवले केएफसी, पिज्जा हट र क्रिम बेल जस्ता विश्व प्रख्यात ब्रान्डहरूलाई वीरगञ्ज ल्याएर यहाँका जनतालाई पनि विश्व स्तरीय सेवा र सुविधा उपलब्ध गराएकोमा मलका सञ्चालकहरू प्रति आभार प्रकट गरे । उनले भने, ‘मलका सञ्चालकहरूले वीरगञ्जलाई उपहार स्वरूप केएफसी, पिज्जा हट र क्रिम बेल जस्ता फुड चेनहरू दिएका छन् । अब यसलाई जोगाएर राख्ने काम नगरवासीहरूको हो ।’
ADVERTISEMENT
