वीरगंज - वीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाई नजिकै रहेको साउथजोन माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालित स्वास्थ्य जाँच शिविर दोस्रो दिन पनि जारी रहेको छ।
स्वास्थ्य शिविरमा डा. सुशील साह, डा. मुकुन्द जैसवाल र डा. वेद प्रकाश कुशवाहाको टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिरहेका छन्।
विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीका अनुसार, "विद्यालयले शिक्षा मात्र होइन, विद्यार्थीहरूको समग्र विकासका लागि स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिएको छ। स्वास्थ्य राम्रो भए मात्र विद्यार्थीहरू पढ्न, लेख्न, खेल्न र सोच्न सक्ने क्षमता हासिल गर्न सक्छन्। त्यसैले यस्ता कार्यक्रमलाई हामीले प्राथमिकतामा राखेका छौं," उनले बताए।
स्वास्थ्य जाँच शिविरमार्फत विभिन्न प्रकारका परीक्षणहरू जस्तै आँखाको जाँच, दाँतको अवस्था, सामान्य फिजिकल चेकअप, पोषण अवस्था आदि जाँच गरिएको प्रिन्सिपल चौधरीले जानकारी दिए।
यस किसिमको कार्यक्रमले अभिभावकहरूलाई आफ्ना छोराछोरीको स्वास्थ्य स्थितिबारे जानकारी लिन सजिलो भएको उनले बताए।
विद्यालयले शिक्षा क्षेत्रसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उल्लेखनीय सफलता प्राप्त गर्दै आएको र करिब १८०० विद्यार्थीहरू यहाँ अध्ययनरत रहेको प्रिन्सिपल चौधरीले जानकारी गराए।