वीरगंज — वीरगंज महानगर कमिटीअन्तर्गत नेशनल प्याब्सनको आयोजनामा सम्पन्न नेशनल प्याब्सन मेगा छात्रवृत्ति परीक्षा २०८२ मा वीरगंजकी प्रतिभाशाली छात्रा करिश्मा गुप्ताले शानदार सफलता हासिल गरेकी छिन्।
उक्त परीक्षामा वीरगन्ज क्षेत्रका विभिन्न विद्यालयका ११३ जना विद्यार्थीहरू अनलाइन तथा अफलाइन माध्यमबाट सहभागी भएका थिए। तीमध्ये करिश्माले अत्यधिक अङ्क प्राप्त गर्दै उत्कृष्ट स्थान प्राप्त गर्न सफल भइन्।
उनको मेधासम्पन्न प्रदर्शनको आधारमा करिश्माले कक्षा ११ र १२ को लागि डेसिमल कलेजमा विज्ञान संकाय रोजेकी छिन्। कलेजले करिश्माको उत्कृष्ट नतिजालाई कदर गर्दै उनलाई १००% पूर्ण छात्रवृत्ति साथै एक थान ब्रान्ड न्यू ल्याप्टप पनि प्रदान गरेको छ।
डेसिमल कलेजद्वारा प्रदान गरिने यो छात्रवृत्ति “मेगा छात्रवृत्ति परीक्षा” मा चयन भएका ३५ जना विद्यार्थीहरूका लागि हो, जसमा करिश्मा शीर्ष स्थानमा रहेकी हुन्।
यस उपलब्धिले करिश्मा गुप्ता मात्र होइन, उनको विद्यालय, परिवार तथा सम्पूर्ण वीरगंज समुदायको गर्व बढाएको छ। साथै, यसले आगामी दिनमा विद्यार्थीहरूलाई पढाइमा अझ प्रेरित र लक्ष्यमा केन्द्रित हुन हौसला प्रदान गर्नेछ।
नेशनल प्याब्सन वीरगन्ज महानगर कमिटीले पनि करिश्मालाई बधाई दिँदै भविष्यमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेको छ।

