काठमाडौँ - पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट मेयर पदका प्रत्याशी सुरज कुमार मानन्धरसहित सम्पूर्ण कमिटीले जसपा नेपाल परित्याग गर्नुभएको छ । उहाँहरूले आज जसपा नेपाल परित्याग गर्दै अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नुभएको हो ।
जसपा नेपाल त्याग गर्दै जसपा प्रवेश गर्नेहरूमा सुरज कुमार मानन्धरसँगै पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवम् नगर कमिटी अध्यक्ष खुर्सिद आलम, वडाध्यक्ष प्रत्याशी मदन चौधरी थारु, वडाध्यक्ष प्रत्याशी एवम् पूर्व वडाध्यक्ष जयनारायण चौधरी, पूर्व वडाध्यक्षहरू रामजी साह र किशुन देव प्रसाद यादव, साथै भूषण यादवलगायतका नेताहरू रहेका छन् ।
नव प्रवेशीहरूलाई खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव, पूर्व मन्त्री इस्तियाक राई, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् निवर्तमान वडाध्यक्ष असलम आलम, वडा नम्बर ९ का वडाध्यक्ष रामबढाइ यादव र अन्य पार्टी नेताहरूले स्वागत गर्नुभएको छ ।
पार्टी प्रवेश गर्दै उहाँहरूले जसपाको नयाँ नेतृत्वलाई समर्थन गर्दै पार्टीलाई अझ सशक्त बनाउने र पर्सा जिल्लाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जसपा प्रवेश गर्दै सुरज कुमार मानन्धरले भन्नुभयो, ‘हाम्रो यो कदमले पर्सागढी नगरपालिकाको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । हामी जनता समाजवादी पार्टीलाई अझ बलियो बनाउन र जनताको सेवामा निरन्तर क्रियाशील रहन प्रतिबद्ध छौँ ।’
यस सामूहिक प्रवेशले पर्सा जिल्लामा राजनीतिक तरङ्ग ल्याएको छ । जसपाका नेताहरूले आगामी दिनमा पर्सा जिल्लाको विकास र समृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ADVERTISEMENT