वीरगञ्ज - वीरगञ्ज–२४ बहुवरीमा सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा युवाहरूसँग उत्साहपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ‘जय घन्टी’ नारासहित उल्लेख्य संख्यामा युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वतःस्फूर्त रूपमा रास्वपामा आबद्ध हुन आएका युवाहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै आगामी निर्वाचनमा घन्टी छापको पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी युवाहरूले नै लिने प्रतिबद्धता व्यक्त गर्यो। सहभागी युवाहरूले देशमा व्याप्त निराशा, विकृति र पुरानो राजनीतिक संस्कृतिप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको नेतृत्व रास्वपाले मात्र गर्न सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा पर्सा जिल्लाभर परिवर्तन चाहने युवाहरूको आकर्षण रास्वपातर्फ बढ्दो क्रममा रहेको र पार्टीमा जोडिने क्रम निरन्तर जारी रहेको बताइएको थियो। वक्ताहरूले रास्वपाले नयाँ, इमानदार र जवाफदेही राजनीतिक संस्कृतिको सुरुवात गरेको दाबी गरे।
युवाहरूले अब पर्सा क्षेत्र नम्बर २ मा नयाँ सोच, नयाँ दृष्टिकोण र युवा नेतृत्वलाई रोज्ने वातावरण बनेको उल्लेख गर्दै समाज परिवर्तनमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए। कार्यक्रमको अन्त्यमा पार्टीमा नयाँ रूपमा जोडिएका युवाहरूलाई स्वागत गर्दै परिवर्तनको यात्रामा सहकार्य गर्ने आह्वान गरिएको थियो।

