वाशिङटन डीसी । स्पाइडर म्यानका को–स्टार टम हल्यान्ड र जेन्डेयाले इन्गेजमेन्ट गरेका छन् । सोमबार दुवैले आफूहरूले इन्गेजमेन्ट गरेको खबरको पुष्टि गरेका हुन् । गोल्डन ग्लोब्सको रेड कार्पेटमा जेन्डेयाले हिराको ठुलो औँठी लगाएर आएकी थिइन् । अभिनेत्रीको औँलामा उक्त औँठी देखेपछि फ्यानहरूमाझ उनले इन्गेजमेन्ट गरेको अफवाह चर्किएको थियो । सोको एक दिनपछि यो खबरको पुष्टि भएको हो ।
गोल्डन ग्लोब्स आइतबार राति भएको थियो । समारोहमा सहभागी हुने क्रममा जेन्डेयाले खिचाएकी तस्बिर र भिडियोहरू इन्टरनेटमा भाइरल बनेको थियो । ती तस्बिर र भिडियोमा अभिनेत्रीले अभिनेता हल्यान्डसँग सुटुक्क इन्गेजमेन्ट गरेको कमेन्टहरू आएका थिए । केहीले भने अभिनेत्री बुल्गारीलगायत लक्जरी ब्रान्डको दूत बनेको हुन सक्ने अड्कल गरेका थिए । हल्यान्ड र जेन्डेयाको भेट सन् २०१६ मा ‘स्पाइडर म्यानः होमकमिङ’को सेटमा भएको थियो ।

