वीरगञ्ज - वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपको उपाधि साविक विजेता नेपाल पुलिस क्लबले दोश्रो पटक पुनः उपाधि आफ्नो पोल्टामा पारेको छ ।यही फागुन १७ गतेदेखि जारी मधेस प्रदेश कै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ट्राईबेकरमा १ का बिरुद्ध तीन गोलले पराजित गरी नेपाल पुलिस क्लबले उपाधि चुमेको हो ।
शनिबार वीरगञ्जको आदर्शनगर रंगशालामा भएको फाईनल खेलको पहिलो हाफको १२ औ मिनटमा मच्छिन्द्र फुटबल क्लबका जर्सी नम्बर ८८ का खेलाडी सम्योग ठोकरले गोल गर्दै अग्रता दिनु भएको थियो । पहिलो हाफमा १गोलको अग्रता रहेको मच्छिन्द्र फुटबल क्लबले दोश्रो हाफमा कुनै पनि गोल गर्न सकेन भने नेपाल पुलिस क्लबका जर्सी नम्बर ८ का खेलाडी विकास बि. क. ले गोल फर्काएर खेललाई बराबरमा पुर्याउनु भएको थियो ।
खेल बराबरीमा गएपछि भएको ट्राईबेकरमा मच्छिन्द्र फुटबल क्लबका जर्सी नम्बर ८ का विकास बि.क. र जर्सी नम्बर २३ का दिवाकर चौधरीले हान्नु भएको बल गोल पोष्ट बाहिर भई गोल हुन सकेन भने जर्सी नम्बर ८८ का खेलाडी सम्योग ठोकरले प्रहार गरेको बल नेपाल पुलिस क्लबका गोल किपर अमित टमाटाले रोक्नु भएको थियो ।
त्यस्तैगरी नेपाल पुलिस क्लबको तर्फबाट यूजोल राईले बल गोल पोष्टबाहिर प्रहार गर्नु भएको थियो भने रामचन्द्र वाजी , संजीब लामा र अमित टमाटाले हान्नु बल गोल भएपछि नेपाल पुलिस क्लबको ४ गोल भयो तर मच्छिन्द्र फुटबल क्लब १ गोलमा समेटिएको थियो ।
फाईनल खेलको म्यान अफ द म्याच मच्छिन्द्र फुटबल क्लबका खेलाडी सम्योग ठोकर घोषित हुनुभयो । उहाँले ट्रर्फी सहित १० हजार रुपियाँ नगद पुरस्कार पनि पाउनु भएको छ । नेपाल पुलिस क्लबका गोलकिपर अमित टमाटा वेष्ट गोलकिपर घोषित हुदै ट्रफी र २० हजार रुपियाँ नगद पुरस्कार पाउनु भयो । नेपाल पुलिसका रामचन्द्र वाजीले म्यान अफ द सिरिजको ट्रफी र २० हजार रुपियाँ पाउनु भयो । वेष्ट टिम कोचको पुरस्कार नेपाल पुलिस क्लबका कोच चेतन घिमिरेले ट्रफी र २० हजार रुपियाँ पाउनु भयो ।
सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब गरी राष्ट्रिय स्तरका सात फुटबल टिम र एक भारतीय टिम गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली गरी आठ टिमले दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगितामा भाग लिएका थिए ।
विजेता टिमले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँको चेक , ट्रफी, सबै खेलाडीहरुले मेडल पाउनु भएको छ भने उपविजेता टिमले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक , ट्रफी, सबै खेलाडीहरुले मेडल पाउनु भएको छ ।
विजेता उप विजेता टिम तथा खेलाडीहरुलाई पर्साका प्रमुह जिल्ला अधिकारी गणेश अर्याल , पर्साका प्रहरी प्रमुख गौतम मिश्र , वीरगञ्ज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले ट्रफी , मेडल तथा चेक हस्तान्तरण गर्नु भएको थियो ।
खेल हेर्न आउने दर्शकलाई लक्षित गरेर रंगशालमा बाँसको प्रयोग गरी अस्थायी प्याराफिट निर्माण गरिएको थियो । अस्थायी प्याराफिटमा करिब दुई हजार दर्शक र चौरमा अन्य करिब तीन हजार दर्शक अट्ने क्षमताको बनाईएको थियो ।अघिल्लो संस्करणमा नेपाल आर्मीलाई ट्राईबेकरमा हराउदै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।
ADVERTISEMENT
