काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रधान कार्यालयमा शुक्रबार भएको कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनिधिहरूले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिएका थिए । नेपाल कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् न्यूनीकरणको लागि समुदाय स्तरमा दिइने स्वयंसेवक तालिम प्रभावकारी हुने, स्थानीय तहमा साना दराजमा विपद्का प्राथमिक सामाग्री राख्न जरुरी रहेको तथा प्रत्येक वडामा कम्तीमा १ सय जना जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनको सूचना आदान प्रदान गरी सहकार्य र समन्वयका साथ कार्य गर्न आवश्यक रहेको र यसका लागि आफ्नो पार्टीबाट विपद् व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने बताए ।
नेकपा एमालेका वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपद्मा पूर्व सूचना महत्त्वपूर्ण हुने भएकोले पूर्व जानकारी दिन सकेमा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताए । पूर्व सूचनामा केन्द्रित हुन जरुरी रहेको बताउँदै उनले विपद्पछि उद्धार कार्यमा पहिलो उद्वारक स्थानीय व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने हुँदा स्थानीयस्तरमा स्वयंसेवक उत्पादनका लागि सशस्त्र प्रहरी बल नेपालले गरेको कार्य स्वागतयोग्य रहेको तथा विपदमा सशस्त्र प्रहरी बल नेपाल पुगेपछि जनताले सुरक्षित महसुस गर्ने गरेको साथै जनतालाई जागृत र सचेत गराउन राजनैतिक दलको भूमिका पनि महत्त्वपूर्ण हुने कुरामा जोड दिए । नेकपा माओवादी केन्द्रका वातावरण विभागका नारायण काफ्लेले विपद् व्यवस्थापन जोखिम न्यूनीकरण तथा रोकथामको लागि स्थानीय संरचना बलियो बनाउन जरुरी रहेकोमा जोड दिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठले सीमित श्रोत साधनका बाबजुद सशस्त्र प्रहरी बलले गरेको उद्धार कार्य प्रशंसनीय रहेको बताए । विपद्को समयमा सुरक्षा निकायसँग समन्वय गरी आम जनताको उद्धार तथा राहतमा खटिन राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका विपद् व्यवस्थापन विभाग प्रमुख डा.राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको हुँदा विपद् सम्बन्धी सचेतना कार्यक्रमहरूलाई विशेष जोड दिनुपर्ने तथा क्षति न्यूनीकरण कसरी गर्ने भन्ने कुरामा पूर्व तयारी जरुरी रहेको बताए । उनले सशस्त्र प्रहरी बल नेपालले विद्यालयस्तरमा संचालन गरेको सचेतनामूलक तालिम प्रभावकारी रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च साहसले आम जनतामा सशस्त्र प्रहरी बलको उच्च मूल्याङ्कन रहेको बताए । उनले विपद् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक पार्टीहरूको संयुक्त प्रयासमा जोड दिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् जोखिमलाई प्राथमिकतामा राखेर विपद्मा लगानी र नीतिगत कार्य प्रभावकारी बनाउन जरुरी रहेको बताए । समुदायलाई समेत सचेत तथा सहभागी गराउँदा विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुने उल्लेख गरे । उनले समुदायसँगको समन्वय तथा सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताए । विपद्बाट हुने धनजनको क्षति कम गर्न राजनैतिक दलको भूमिका समेत समुदायस्तरमा महत्त्वपूर्ण हुने उनको भनाइ थियो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका विशेष गरी वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी विभागका प्रमुख तथा प्रतिनिधिहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू वंशीराज दाहाल र गणेशबहादुर ठाडामगर लगायत उच्च अधिकृतहरूको उपस्थिति थियो ।
ADVERTISEMENT

