काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ ।आईरिस सिस्टम जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थाहरूलाई एनआईडी प्रणालीमा जोडिएको हो ।योसँगै अबदेखि तालिम नलिई वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम नदिई गएको खण्डमा तत्काल पत्ता लाग्ने विभागले जनाएको छ । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीसँग आईरिसको अभिलेख प्रणाली जोडिएको बताए ।
अबदेखि वैदेशिक रोजगारका तालिम, ओरिएन्टेसन र अभिलेखमा फिंगरप्रिन्ट र आइरिस डाटामार्फत अनिवार्य प्रमाणीकरण हुने व्यवस्था गरिएको छ । ‘अब आइरिस मात्र होइन, फिंगरप्रिन्ट मात्र होइन अब पुरै डाटा नै आउने भयो । बायोमेट्रिक नै आउने भयो । अब अर्को व्यक्ति गएर तालिम लिने नपाउने भयो । त्यस्तो पाइएको खण्डमा सिस्टमले देखाउछ,’ भट्टराईले भने ।विभागले २०८१ असोज ११ गते नै सार्वजनकि सूचना जारी गर्दै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूलाई अनिवार्य रूपमा फेस टाइम एण्ड आईरिस रिकोग्नाइजेशन सिस्टम जडान गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार व्यवसायीहरूले आँखाको रेटिना पढ्ने आईसिस सिस्टम जडान गरेका थिए । व्यवसायीहरूले आईंरिस सिस्टम जडान गरेपछि विभागले एनआईडीसँग जोड्न सकेको थिएन । जसले गर्दा तालिम लिए वा नलिएको यकिन गर्न सकिने अवस्था थिएन ।विभागले एनआईडीसँग जोडेसँगै तालिमका नाममा हुने ठगी नियन्त्रणमा आउने विश्वास लिएको छ ।

