काठमाडौं । नेकपा एमालेका संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक रसुवा बाढी पीडितहरूलाई दिने भएका छन् । एमालेको मंगलवार बसेको संसदीय दलको बैठकले १५ दिनको पारिश्रमिक बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो । संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।सांसदहरूको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने पनि उनले बताए । एमालेले बाढीपीडितको राहतका लागि यसअघि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
‘बाढी पीडितहरूलाई राहत र उद्धारका लागि सरकारले सहयोग माग गरेको छ, सङ्कलन गरेको छ, नेकपा एमालेले भर्खरै हिजो मात्रै पनि १ करोड २० लाख रूपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘त्यो १ करोड २० लाखलाई टेवा पुग्ने गरी हाम्रो सङ्घीय संसदीय दलका तर्फबाट प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक त्यसमा जम्मा गर्ने हामीले निर्णय गरेका छौं । त्यसो करिब १२ लाख भन्दा बढी यहाँबाट जम्मा हुने हामीले अपेक्षा गरेका छौं ।एमालेले उद्धार, राहत, शव व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यको अनुगमन र सरकारसँग आवश्यक समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय पनि गरेको छ ।बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समिति गठनको माग गर्ने र उक्त बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापाले सम्बोधन गर्ने उनले बताए ।
ADVERTISEMENT

