नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार बाँकेका उद्योगी, ब्यवसायीसँग संवाद गरेका छन् । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेको आयोजनामा संवाद गरिएको थियो ।संघका अध्यक्ष सञ्जय थापाको सभापतित्वमा आयोजित संवादमा उपस्थित भएका उद्योगी, ब्यवसायीले सरकारको नीति, आर्थिक संकटका कारण आफुहरुले ब्यहोर्नु परिरहेको समस्या राखेका थिए । सो क्रममा बाँके निर्माण ब्यवसायी संघका निर्वतमान अध्यक्ष टेकबहादुर खड्का, औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुदिप खड्का, संघ बाँकेका पुर्वअध्यक्ष अभय बस्नेत, होटल ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष भाष्कर काफ्ले लगायत उद्योगी, ब्यवसायीले आफ्ना सुझाव राखेका थिए ।
उद्योगी, ब्यवसायीले राखेका सुझावलाई महामन्त्री थापाले आफ्नो डायरीमा टिपोट गरेका छन् । उद्योगी, ब्यवसायीका कुरा सुनिसकेपछि उनले आफुले यात्रा सकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत राजनीतिक दलका अध्यक्षहरुलाई भेटेर समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लाको उद्योग, ब्यवसायको अवस्थाबारे जानकारी गराएका थिए ।