
रिट खारेज भएसँगै उनले विश्वासको मत लिएका थिए । उक्त विश्वासको मतमा पनि संविधान उल्लङ्घन भएको दाबीसहित सर्वोच्चमा रिट दायर भएपछि उनी दोस्रो पटक अन्तरिम आदेशले काम चलाउन हुन पुगेका हुन् ।यस्तै सर्वोच्चले दुवै पक्षलाई जानकारी दिई निवेदनको सुनुवाइ यथाशीघ्र हुन आवश्यक र उपयुक्त देखिएको भन्दै जेठ ८ गतेको पेसी तोकी निवेदनलाई अग्राधिकारसमेत दिने आदेश गरेको छ । सर्वोच्चको यो आदेशपछि मुख्यमन्त्री अधिकारीलाई केही महत्त्वपूर्ण कामहरूमा रोक लागेको छ ।
‘विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा मत विभाजनमा पक्षमा ३०, विपक्षमा २७ र मत दिन्न भन्ने पक्षमा २ (दुई) मत भई नेपालको संविधानको धारा १८६ को व्यवस्था र यस अदालतबाट मिति २०६१।१।१७ मा जारी भएको आदेश बमोजिमको आधारमा माननीय खगराज अधिकारीले राख्नु भएको विश्वासको प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरिएको देखियो,’ आदेशमा भनिएको छ, ‘उल्लिखित घोषणा गर्दा प्रयोग भएको धारा १८६ को प्रावधान एवम् संविधानको धारा १८८ को समेत बृहत् व्याख्या हुनुपर्ने र विश्वासको मत र अविश्वासको मत गण्डकी प्रदेश सभामा कति हुनुपर्ने हो सो समेतको व्याख्या हुन आवश्यक देखियो ।’