काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र सो पार्टीका महामन्त्री नेता गगन थापालाई खुला चुनौती दिएका छन् । कांग्रेस र थापाले आरोप लगाएजस्तो आफूले खुद फारम भरेर सहकारीबाट ऋण मागेको वा लिएको प्रमाणित गरिदिए राजनीति छाड्ने घोषणा गरेका छन् । प्रमाणित नगरे तपाईँ राजनीति छाड्न तयार हो भन्दै लामिछानेले प्रश्न गरेका छन् ।
लामिछानेले शुक्रबार साँझ फेसबुकमा भनेका छन्, ‘कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको–लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन ।’
उनले आफू संसदीय छानबिनसँग र ‘कांग्रेसको देश डुबाउने’ राजनीतिसँग डराएको नडराएको पनि बताएका छन् । ‘तर मलाई मात्र एक पटक बोल्न दिन तपाईँहरू चाहिँ किन डराएको ? डर र रवि लामिछाने एकै ठाउँमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ’, लामिछानेको भनाइ छ ।

