काठमाडौं २९ जेठ। सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंगो संसद र सांसदहरुको हविगत बढो कहालीलाग्दो रहेको बताए । उनले भने– ‘जुन संसदले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीको पद मानिन्छ ती सांसदहरुको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन । अहिले सरकारमा हालीमुहाली रहेका नेताहरुको क्षेत्रमा बजेट अलि बढी नै होला । के यो बजेटमाथि मैले भनेको कुराहरु पनि छ भन्ने सांसदहरुको अवस्था होला ? कुनै पनि त्यस्तो ठाउँ छैन । सम्पूर्ण सांसदहरुको र सिंगो संसदको यसमाथि स्वामित्व रहनुपर्छ ।’
उनले सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि नभएको बताउँदै सांसदको गरिमा कायम गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘म बढो लज्जाका साथ भन्न चाहन्छु, कतिपय मामिलामा आजका हामी सांसदहरु भन्दा वडाध्यक्षहरुलाई अझ बढी सक्रिय देख्छन् । यो कुरालाई सरकारले नोट गर्नुपर्छ । सांसद र संसदको गरिमा रक्षा गर्नु हाम्रै कर्तब्य हो । यो काम संसदले गर्न सकेको छैन, यसमा मलाई दुःख लागिरहेको छ ।’

