काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताए ।
विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गरे ।पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताए ।

