पाल्पामा रणउजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति सहभागी
zeenepal
२०८१ भाद्र ११,
18
Shares
पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवतीको २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन गरेका छन् ।पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पुगेका हुन् जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् ।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा पनि गरे । त्यसपछि राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजीरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।उनले पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गर्नुपर्ने पनि बताए ।नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा २०५ वर्षदेखि पाल्पाको तानसेनमा भगवतीको रथयात्रा निकालिँदै आएको छ ।