
उपराष्ट्रपति यादवले हालैका वर्षहरूमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुसी व्यक्त गरे । ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई दिएको प्राथमिकता र महत्त्व प्रतिबिम्बित हुन्छ’ उनले भने, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुसी छौँ।’सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गरेका नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरूको बैठकले दुई देशबिच आपसी विश्वास र सहयोगको वातावरण बनेको उनले बताए ।
उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताए । ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्त्वपूर्ण छ’ उनले भने, ‘निकट छिमेकीका रूपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्ने बताउँदै उपराष्ट्रपति यादवले यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न वस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि प्राथमिकतामा रहेको बताए ।