काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन् एमाले पेसागत विशेष जिल्ला कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने जिकिर गरे । 'त्यसको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं,' महासचिव पोखरेलले भने ।
राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको उनको भनाइ थियो । विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको पनि उनले बताए ।'२०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन ।
कमजोर धरातलमा गरिएको एमाले र माओवादी एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो,' उनले भने ।उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए । 'लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ,' उनले भने ।

