
पूर्वको अभियान सम्पन्न भएपछि माओवादीका अभियान टोली फागुन १५ गते मधेस प्रदेशको सप्तरी प्रवेश गरेको थियो । १६ गते सिराहा, १७ गते धनुषामा अभियान सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गरेको थियो । जसअनुसार २२ गते महोत्तरी, २३ गते सर्लाही २४ गते रौतहटमा अभियान सम्पन्न गर्यो । तर गणतन्त्रविरुद्ध राजावादीहरू सक्रिय रहेको निष्कर्ष निकाल्दै अभियान स्थगित गरी माओवादी काठमाडौँ फर्कियो । मधेसको बाँकी जिल्ला बारा, पर्साको अभियान चैत ७ र ८ गते सम्पन्न गर्यो ।चैत ९ गते बागमती प्रदेशको चितवनमा अभियान सम्पन्न गरी व्यवस्थाविरुद्ध भइरहेको राजावादीहरूको अभियानलाई चुनौती दिने भन्दै फेरि काठमाडौँ फर्कियो । चैत १५ गते समाजवादी मोर्चाका दलहरूसँग मिलेर भृकुटीमण्डपमा विरोध सभा गर्यो । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने बिचबिचमा ब्रेक गरी अभियान सञ्चालन गरेको हो ।
लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सभा तथा अन्तरक्रिया, सहिद परिवारसँग भेटघाट गरी अभियान टोली वैशाख १५ गते सुदूरपश्चिमको कैलाली प्रवेश गरेको थियो । हुलाकी मार्गले गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लालाई छोएको छैन । अभियान अवधिमा अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने, २०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराउने काम गरेको थियो । यस्तै किसानहरूको समस्या समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत अभियानले भूमिका खेलेको प्रवक्ता सापकोटाले जानकारी दिए ।