काठमाडौँ — सवारी चालक अनुमतिपत्र आगामी असार मसान्तदेखि सुरक्षा मुद्रण केन्द्रले छाप्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग र सुरक्षा मुद्रण केन्द्रबीच शुक्रबार भएको सम्झौताअनुसार असार मसान्तदेखि केन्द्रले सवारी चालक अनुमतिपत्र छाप्ने भएको हो ।सवारी चालक अनुमतिपत्र नवीकरण गरेको लामो समयसम्म पनि नपाउँदा सर्वसाधारणले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै समाधानका लागि उक्त निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जनाएका छन् ।
तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि ‘नागरिक एप’मा चालक अनुमतिपत्र समावेश गरिएको छ । हाल सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ ।
दिगो समाधानका लागि समयमै सवारी चालक अनुमतिपत्र छपाई गर्नुपर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोज्न निर्देशन दिएका थिए ।दुवै पक्षबीच भएको समझदारीअनुसार सुरक्षा मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।सो पत्रमा सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन् । सुरक्षा मुद्रण केन्द्रले क्युआर सहित सवारी चालक अनुमतिपत्र छपाई गर्नेछ ।

