सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन् । खड्कालाई सभामुख नन्दा गुरुङले प्रदेशसभाको सचिवमा नियुक्त गरेकी हुन् ।तत्कालीन सचिव जीवराज बुढाथोकी उमेर र दोहोरो सुविधा लिएको विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामापछि खड्कालाई मंगलवार रिक्त सचिव पदमा नियुक्त गरिएको हो ।नवनियुक्त सचिव खड्काले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सभामुख गुरुङ समक्ष पद तथा गोपनीयता शपथ लिएका हुन् ।
नेपाल सरकारका पूर्व सहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९ ओखलढुङ्गा स्थायी निवासी हुन् । संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।कानुन विषयमै विद्यावारिधि गरेका उनले सार्वजनिक प्रशासन विषयमा सिंगापुरको नेसनल युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।नेपालको संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनी २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा हप्ता दिनसम्म प्रदेशसभामै बसेर बैठक सञ्चालनको सहजीकरण समेत गरेका थिए ।

