काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर इमानदार तथा परिणाममुखी ढंगले जिम्मेवारी पूरा गर्न सबै निकायलाई आग्रह गरेका छन्। बुधबार आयोगको कार्यालय टङ्गालमा सम्पन्न एपिजीका प्रतिनिधिहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।कार्यक्रममा एपिजीका डेलिगेसन प्रमुख डेविड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासली को सहभागिता रहेको थियो।
साननले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धतासमेत व्यक्त गरे।सो अवसरमा प्रमुख आयुक्त राईले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न एपिजीले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आयोगले अनुसन्धान तथा अभियोजन क्षेत्रमा गरेका नीतिगत, कानुनी र संस्थागत सुधार, अनुसन्धान क्षमता विकास तथा अन्तरनिकाय समन्वयका विषयमा जानकारी गराएकउा थिए।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कर्मचारीको स्थायित्वसहितको विशेषीकृत महाशाखा स्थापना गर्न आवश्यक रहेको औँल्याउँदै उच्च जोखिमयुक्त क्षेत्रको प्रभावकारी नियमन, सुपरीवेक्षण र कानुन कार्यान्वयनमा सम्बन्धित निकाय थप जिम्मेवार हुनुपर्ने धारणा राखे।
ADVERTISEMENT

