काठमाडौँ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएकी हुन्। सभापति राईले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनका कदम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिइएको बताएकी छन्। देशभर गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न समितिले जोड दिएको छ।
दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न र प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिइएको छ। बैठकमा निर्णय सार्वजनिक गर्दै सभापति राईले भनिन्,बजारमा खाना पकाउने ग्यासको तत्काल सुनिश्चितता गर्ने, देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्ने निर्णय गरिएको छ।’
उनले अगाडि भनिन्, ‘दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको अस्वाभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने र सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलहरूको नियमित अनुगमन र क्षेत्रगत दायरा विस्तार गर्ने निर्देशन दिइएको छ।’यस्तै प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न र तहगत सरकार एवम् अन्तरमन्त्रालयबिच समन्वय र सहकार्य गर्दै नियमित रूपमा बजार अनुगमन गर्न समितिले निर्देशन दिएको छ।
सभापति राईका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिच तथा सम्बन्धित मन्त्रालयहरूबिच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन सञ्चालन गर्न सरकारलाई भनिएको छ। यसका साथै उपभोक्ता हित संरक्षणलाई प्रभावकारी बनाउन, उपभोक्ताका गुनासा र उजुरी सुनुवाइ गर्ने संयन्त्र सुदृढ गर्न तथा उपभोक्ता अदालतलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।
ADVERTISEMENT

