नेपालगन्ज । देशमा आएको बाढीका कारण उत्पन्न राष्ट्रिय विपद् तथा असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपालगन्जस्थित होटल बाटिकामा भाद्र २७ गते आयोजना हुने तय भएको समर संगीत उत्सव २०२६’ इभेन्टको मिति परिवर्तन गरिएको छ। आयोजक Job Gallery Pvt. Ltd. (JG Entertainment) ले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै नयाँ मिति असोज ९ गते तय गरिएको जनाएको छ।
आयोजकका अनुसार पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का कारण नागरिकहरू प्रभावित भइरहेका बेला मनोरञ्जनात्मक कार्यक्रमलाई मात्र निरन्तरता दिनुभन्दा विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमलाई च्यारिटी इभेन्टका रूपमा आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमका प्रमुख आयोजक रवि बस्नेतले अब आयोजना हुने ‘समर संगीत उत्सव २०२६’ बाट संकलन हुने सहयोग रकम तथा कार्यक्रमबाट प्राप्त हुने सहयोगलाई सरकारमार्फत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकसम्म पुर्याउने बताए ।
बस्नेतले भने, “देशमा विपद्का कारण धेरै नागरिक समस्यामा परेका छन्। यस्तो अवस्थामा हाम्रो कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी विपद् प्रभावितलाई सहयोग गर्ने उद्देश्यले च्यारिटी कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गरेका हौँ। कार्यक्रमबाट प्राप्त सहयोग सरकार मार्फत प्रभावित नागरिकसम्म पुर्याउनेछौँ।”आयोजकले कार्यक्रमको नयाँ मिति असोज ९ गते तय भएसँगै तयारीलाई पनि सोहीअनुसार अघि बढाइने जनाएको छ। विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आयोजना गरिने च्यारिटी कार्यक्रमले प्रभावित नागरिकलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
ADVERTISEMENT

