काठमाडौं असार गृहमन्त्री बालकृष्ण खाँणले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले महिला हिंसाविरुद्धका घटना न्यूनिकरणमा सरकार गम्भीर रहेको प्रतिवद्धता व्यक्त गरेका हुन् । गृहमन्त्रालयमा राप्रपा महिला संगठनको १३ बुँदे ज्ञापनपत्र बुझेपछि गृहमन्त्री खाँणले नागरिकको जिउधनको रक्षा र सुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका थिए । उनले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका विषयमा राप्रपाको महिला संगठनले बुझाएको मागबारे सुरक्षा निकाय र दलहरूसँग छलफल गर्ने जवाफ दिएका थिए ।राप्रपा महामन्त्री कुन्ती शाहीको नेतृत्वको प्रतिनिधि मण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । हिंसामा परेका महिलाको सुरक्षा र जिविकोपार्जनको व्यवस्था गर्न पनि राप्रपा महिला संगठनले माग गरेको थियो ।
'महिलाविरुद्ध हुने हिंसा, बलात्कार र हत्याका घटनाका दोषीलाई कडा सजाय गरियोस् । सार्वजनिक यातायातमा हुने महिला हिंसालाई रोक्न त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न सुरक्षा निकाय परिचालन गरी ठाउँको ठाउँमा कारबाही हुनुपर्ने,' गृहमन्त्रीलाई राप्रपाको महिला संगठनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, 'महिला सुरक्षाको लागि छुट्टै सुरक्षा दस्ता तयार गरी कार्यान्वयन गरियोस् । हरेक विद्यालयमा बालिकालाई आत्मारक्षाका लागि विभिन्न तालिमको व्यवस्था गरियोस् । राज्यका हरेक निकायमा महिला हिंसा रोक्नका लागि ठोस नीति बनाएर कार्यान्वय गरियोस् ।'
राप्रपा महिला संगठनले अनलाइनका माध्यमबाट हुने महिला हिंसा रोक्नका लागि भूमिका खेल्नुपर्ने गृहमन्त्रीसँग माग गरेको छ । त्यस्तै, घरेलु कामदारका रूपमा काम गर्ने महिलामाथि यौन हिंसा हुने गरेको भन्दै सरकारले त्यसको निगारानी गर्नुपर्ने पनि राप्रपा महिला संगठनको माग थियो ।
ADVERTISEMENT