नेपालगन्ज : नेपाल रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्र भवन निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले बिहीबार शिलान्यास गरेका छन् । अस्पताल परिसरमा रहेको जीर्ण अवस्थाको भवन भत्काएर नयाँ बनाउन शिलान्यास गरिएको रेडक्रसले जनाएको छ ।
शिलान्यास गर्दै मन्त्री राईले भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ३ करोड रूपैयाँ विनियोजन गरिसकेको दाबी गरे । विनियोजित बजेटमध्ये ५ लाख रूपैयाँ नक्सा र डिपिआरका लागि खर्च गरिने उनले बताए । मन्त्री राईका अनुसार २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्च गरिनेछ । मन्त्री राईले बिहीबार नै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ रमपुर्वामा र वडा नम्बर ४ तथा ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टा छुट्टै पुल शिलान्यास गरेका छन् । उक्त पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला आरपार गर्न सहज हुने विश्वास गरिएको छ ।