काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकटमा एकलौटी गर्न खोजेको भन्दै छलफल थालेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको निष्कर्षसहित सच्याउन दबाब दिन स्वयम्भूको एउटा पार्टी प्यालेसमा कोइराला समूहको भेला चलिरहेको छ ।
नेता डिल्लीराम सुवेदीका अनुसार बैठकमा कोइराला समूहका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, केही वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी सहभागी छन् । उनले भने, ‘समानुपातिक उम्मेदवारको सूची सच्याउनुपर्छ । प्रत्यक्षमा समानुपातिकका जस्तो व्यवहार स्वीकार्य छैन भनेर खबरदारीसभा गर्दै छौं । आज त्यसैको तयारीका लागि छलफल भइरहेको छ ।’

