काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा निर्माणका लागि ताकेता गरेका छन् । एमाले बाहेकका पार्टीलाई जोड्नेगरी बनाउने भनिएको समाजवादी मोर्चा बनाउन ढिला हुन थालेपछि अध्यक्षद्वय भट्टराई र चन्दले ताकेता गरेका हुन् ।
अन्तमा समाजवादी मोर्चा निर्माण गर्न माओवादीले ढिला गरेको बाबुराम र विप्लवको निष्कर्ष छ । समाजवादी मोर्चा निर्माणमा माओवादीसहित अरु दलले अग्रसरता लिन ढिला गरेको नेकपा सचिवालय सदस्य सन्तोष बुढामगरले बताए । ‘हामीले समाजवादी मोर्चा बनाउने विषयमा छलफल गरेका थियौं । कुन–कुन दल कसरी जाने भन्ने विषयमा छलफलै नहुँदा निष्कर्षमा पुगिएको छैन’ बुढाले भने, ‘हामीहरु समाजवादी मोर्चा बनाउन तयारै छौं । माओवादी केन्द्रसहित अरु पार्टीहरुले तत्परता देखाउन ढिला भयो ।’ विचार मिल्ने पार्टीहरु एक ठाउँमा उभिएर राजनीतिक निकास दिनुपर्ने बुढाले बताए ।
बाबुराम माओवादी केन्द्रसँग एकता गर्न तयार नभएपछि समाजवादी मोर्चा निर्माणमा लागेका हुन् । समाजवादी मोर्चा निर्माण गर्न पार्टी सरकारमा भएकाले ढिला भएको नेताहरुले बताउँदै आएका छन् । आगामी आर्थिक वर्षको बजेट आएपछि समाजवादी मोर्चा निर्माणमा लाग्ने ती पार्टीहरुको तयारी छ ।

