अनिल महासेठ\गजेन्द्रनारायण सिंहको भनाइ हो यो । गजेन्द्रनारायण (१९८५–२०५८)ले २२ वर्षअघि आजैको दिन (माघ १० गते) धर्ती छाडेका थिए । नेपालको राजनीतिमा गजेन्द्रनारायणले मधेसलाई स्थापित गरेका हुन् । मधेसमा पहिलो, दोस्रो र तेस्रो विद्रोह भयो र केही हदसम्म भए पनि मधेसले पहिचान र अधिकार पाएको छ । गजेन्द्रनारायण सिंहभन्दा पहिला पनि मधेसको मुद्दा नउठेको होइन, मधेसको अधिकार र पहिचानको कुरा पहिलोपटक प्रभावशाली र संगठित रूपमा लामो समयसम्म उठाउने उनै हुन् ।
उनले आफ्नो पार्टीबारे भन्थे– सद्भावना कुनै पार्टी होइन, यो मधेसी जनताको भावना हो । यस भावनालाई नेतृत्व गर्नेले प्रजातान्त्रिक पद्धतिबाट सही मार्गमा लान सक्नुपर्छ । नेपालभित्र दोस्रो दर्जाको नागरिकसरह जीवन बिताउन बाध्य बनेकालाई सामाजिक न्याय दिलाउँदै सम्पूर्ण नेपाली नागरिकले समानताको अनुभूति गर्न सक्ने नयाँ नेपालको स्थापना गर्नु नै आफ्नो पार्टीको मुख्य लक्ष्य हो ।
यो पंक्तिकारले करिब चार वर्षदेखि गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रको ब्यानरमा खासगरी उनको पुण्यतिथिमा फरक–फरक सवालमा सामाजिक, राजनीतिक र सांस्कृतिक अन्तक्र्रिया गर्दै आएको छ । अहिलेको खासगरी मधेसकेन्द्रित राजनीतिक दल र समाजमा गजेन्द्रबाबुप्रति अगाध श्रद्धा र सम्मान आजपर्यन्त कायम देखिन्छ । सरकारकेन्द्रित मुख्य दलहरूले मधेसका महत्त्वाकांक्षी नेताहरूको व्यक्तिगत स्वार्थको सम्बोधन गरिदिने तर मधेसीको अधिकारलाई वास्ता नगर्ने रणनीतिमा लागेको देखियो ।
अधिकार, पहिचान, समतामूलक समाज निर्माणको सवालमा आवाज बुलन्द गर्दै शोषण, उत्पीडनमा परेका मधेसी समाजमा उनले आफ्नो अधिकारका लागि लड्नुपर्छ भनी सपना जाग्रित गराउने पवित्र कार्य गरे । संघीयता, समावेशिता, मधेसीको राष्ट्रिय पहिचानको मान्यताको लडाइँ, जातीय, लैङ्गिक विभेद र असमानताको लडाइँ लड्दै समतामूलक समाज निर्माणमा जीवनपर्यन्त संघर्षरत रहे ।