वीरगंज - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
अभियान अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ लिपनीविर्तामा सम्पन्न घरदैलो कार्यक्रममा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति तथा उत्साहजनक समर्थन देखिएको थियो। उम्मेदवार चौरसियाले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए।
घरदैलोका क्रममा उनले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्दै ती क्षेत्रको सुधारका लागि आफू दृढ रूपमा प्रतिबद्ध रहेको बताए।
अभियानलाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्ने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गरे। “जनताको घर–घर पुगेर उनीहरूका समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धताका साथ हामी अघि बढेका छौं। नागरिकहरूको समर्थनले थप ऊर्जा मिलेको छ,” उनले भने।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले चौरसियाको सक्रियता तथा पार्टीको नीति–कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए।

