काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्ध आन्दोलन थालेको छ । आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो ।भर्ना प्रक्रिया सच्याएर योग्यता क्रमको आधारमा भर्ना गर्न माग गरेको हो । अनेरास्ववियुले आयोग कार्यालय अघि प्रर्दशन गर्नुका साथै गेटमा तालाबन्दी समेत गरेको छ । अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले आयोगले प्राथमिक सूचीबाट भर्ना नगरी मनोमानी ढंगबाट भर्ना गरेपछि विरोध गरिएको बताए । निर्णय नसच्चिएसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने उनको भनाई छ ।
आयोगले २६ चैत मा पहिलो चरणको भर्ना पश्चात् रिक्त रहेका पदमा दोस्रो चरणको भर्ना प्रक्रिया अगाडि बढाएको थियो । पुनः म्याचिङको भर्नासूची मेरिटोक्रेसी मिचेर निकालिएको भन्दै विद्यार्थीहरू आन्दोलन गर्दै आएका छन् ।उनीहरूले आयोगले निकालेको म्याचिङको भर्नासूची अनुसार एक नम्बरमा नाम निकालेको विद्यार्थी उक्त सिटमा भर्ना नभए स्वतः दुई नम्बरमा नाम रहेको विद्यार्थीले सिट पाउनुपर्ने उनीहरूको माग छ । आयोगले दोस्रो नम्बरमा रहेको विद्यार्थी भन्दा पनि पछिको विद्यार्थी भर्नाका लागि नाम निकालेको थियो ।