पर्सा — ठोरी गाउँपालिका–२ मा टेकबहादुर शाक्यको उपस्थितिमा युवा Gen-Z, वरिष्ठ व्यक्तित्व तथा आमाबुबा–दिदीबहिनीहरूसँग प्रत्यक्ष अन्तर्वार्ता तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय समस्या, विकास निर्माण, रोजगारी, शिक्षा तथा स्वास्थ्य जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा खुला छलफल गरिएको थियो। सहभागी युवाहरूले गाउँपालिकामा दिगो विकास, रोजगारी सिर्जना र गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याउँदै परिवर्तनको स्पष्ट चाहना व्यक्त गरेका थिए।
त्यस्तै, वरिष्ठ व्यक्तित्वहरूले विगतका अनुभव सुनाउँदै दीर्घकालीन योजना, पारदर्शिता र सहकार्यमा आधारित विकास मोडेल अपनाउन सुझाव दिएका थिए। आमाबुबा तथा दिदीबहिनीहरूले स्वास्थ्य सेवा पहुँच, सडक पूर्वाधार र सामाजिक सुरक्षाका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै टेकबहादुर शाक्यले जनताको आवाजलाई नै आफ्नो मार्गदर्शन मान्दै उठेका समस्याहरू समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा प्रत्यक्ष संवादमार्फत जनचासोका विषय उठान गरिनु सकारात्मक पहलका रूपमा हेरिएको छ।

