पाल्पा — तीन दिनसम्म चलेको रम्भा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड रम्भा गाउँपालिका–३, पीपलडाँडास्थित अमृत पब्लिक मावि अगाहाखोलाले जितेको छ ।अमृत पब्लिकले १५ स्वर्ण, ५ रजत र ३ काँस्य गरी २३ पदकसहित पहिलो भएको हो ।गत वर्ष पनि अमृत पब्लिकले नै रनिङ सिल्ड जितेको थियो । पीपलडाँडाकै कृष्ण मावि रम्भा गाउँपालिका–३, झेस्काङले ४ स्वर्ण, २ रजत र ६ काँस्य १२ पदकसहित दोस्रो भएको छ । प्रतियोगितामा रम्भा गाउँपालिका–२, फोक्सिङकोटस्थित सानाहुँगी माविले २ स्वर्ण, ३ रजत र ८ काँस्य गरी १३ पदकसहित तेस्रो भएको रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले जानकारी दिइन् ।
रनिङ सिल्ड प्रतियोगितामा नौ माध्यमिक विद्यालयका ३ सय बढी छात्रछात्राले सहभागिता जनाएका थिए । २८ विद्यामा गरिएको प्रतियोगितामा स्वर्ण, रजत र काँस्य गरी ८४ पदक रहेको थियो । प्रतियोगितामा विजयी विद्यार्थी खेलाडीलाई रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यलगायतले विजयी विद्यार्थी खेलाडीलाई सिल्ड, पदक, प्रमाणपत्र वितरण गरे ।
रम्भा गाउँपालिकाका अध्यक्ष भण्डारीले विद्यालय तहबाटै खेलाडी उत्पादन गराउन विद्यालयमा खेल शिक्षकको व्यवस्था गरेको बताए । उनले गाउँपालिकामा छनोट भएर जिल्ला र प्रदेश स्तरमा हुने प्रतियोगितामा सफलता दिलाउन सक्षम खेलाडी उत्पादन गर्न पनि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरेको उनले बताए ।

