जनकपुर । मधेसका मुख्यमन्त्री शतिस सिंहले मलेसियामा कार्यरत कामदारहरूको लागि सहयोगका लागि मधेस सरकार २४ घण्टा तयार रहेको बताएका छन् । मलेसियामा आफ्नो ६ दिने भ्रमणका क्रममा मलेसियास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन । प्रवासी नेपाली श्रमिकहरूले भोग्दै आएको समस्याबारे आफूहरू जानकार रहेको बताउँदै कामदारहरूको संरक्षण र अधिकारका लागि आफू २४ घण्टा नै दत्तचित्त भएर लाग्ने बताएका हुन ।
उनका अनुसार खासगरी मलेसियामा सेक्युरिटी गार्डहरुमाथि श्रम शोषण भइरहेको छ । दूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने, ‘कामदारको समस्याबारे अध्ययन गरे, अझ सेक्युरिटी गार्डको समस्याबारे थाहा पाए ।
अब मधेस सरकारले कुनै पनि समस्यामा दत्तचित्त भएर लाग्नेछ । कामदारका लागि प्रदेशबाट हरेक सहयोग उपलब्ध गराइनेछ ।’दूतावासमा आयोजित कार्यक्रममा राजदूत नेत्रप्रसाद तिमिल्सिना, एनआरएन मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, जनमत पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश सर्राफसहितको सहभागिता थियो । गएको ५ गते मलेसिया उडेका मुख्यमन्त्री सिंह आज साँझ स्वदेश फर्किँदै छन् ।
ADVERTISEMENT

