काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारकै निर्देशनमा कम्पनीमा दर्ता गरिएका निजी स्कुललाई फेरि गुठीमा लैजाने एवम् गैर नाफामूलक बनाउने तयारी संविधान विपरीत रहेको बताएकी छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद न्यौपानेले सरकारको यस्तो तयारी र निर्णयले राम्रो शिक्षा पाइरहेका विद्यार्थी निराश बनेको र स्कुल सञ्चालकको मनोबल घटेको बताइन् । सरकारकै निर्देशनमा कम्पनीमा दर्ता गरिएका निजी स्कुललाई फेरि गुठीमा लैजाने एवं गैर नाफामूलक बनाउने तयारी संविधान विपरीत छ । यस्ता निर्णयले निजी स्कुलमा लगानीकर्ताको मनोबल घटेको छ । राम्रो शिक्षा पाइरहेका विद्यार्थी पनि निराश छन्,’ सांसद न्यौपानेले भनिन् । ।
उनले सरकारले सञ्चालन गरेका स्कुलहरू सुधार्न पहिला ध्यान दिएपछि प्राइभेट स्कुलमा विद्यार्थीको चाप आफै घट्ने बताइन् । न्यौपानेले गाउँ गाउँमा सिंहदरबार छ भन्ने गरिए पनि त्यो कहाँ छ जनताले भेटाउन नसकेको बताइन् ।
कैलालीका जनताको आवाज भन्दै सांसद न्यौपानेले भनिन्– ‘कैलाली क्षेत्र नं ३ भजनी नगरपालिका वडा नं ४ झल्झलियामा करिव ४३५ घरधुरी छन्। नगरपालिका तीन तिरबाट नदीले घेरिएको छ । पश्चिमतिर कन्द्रा नदीले उग्र रूप लिई बस्ती नै बगाउने जोखिम बढेपछि गाउँको सिंहदरबार, खोज्दा नभेटिएपछि सिङ्गो बस्ती उठेर आफैँले अर्ग्यानिक बाध बाँधेर तत्कालको लागि अस्थायी समाधान गरेका छन् । तत्कालै त्यो ठाउँमा तटबन्धन गरेर जनताको लागि सरकार छ है भन्ने सन्देश दिनको लागि सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँछु।’

