वाणिज्य महासंघको भवन शिलान्यास गरेको दुई महिनामै जग्गा फिर्ता
zeenepal
२०८१ बैशाख ४,
9
Shares
हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा भवन निर्माण गर्ने योजना अधुरै हुने भएको छ ।भवन शिलान्यास गरेको दुई महिनामै हेटौंडा उपमहानगरपालिकाले जग्गा फिर्ता लिने निर्णय गरेको छ । २ वैशाखमा बसेको नगर कार्यपालिका बैठकले जग्गा फिर्ता लिने निर्णय गरेसँगै महासंघ बागमती प्रदेश समिति आश्चर्यमा परेको छ ।११ फागुनमा भवन निर्माणको शिलान्यास गरेर आर्थिक सहयोग संकलनमा जुटिरहेको बेला जग्गा फिर्ता लिने निर्णयले आश्चर्यमा परेको कार्यकारी निर्देशक विवेक मानन्धरले बताए । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ११ फागुन २०८० मा बागमती प्रदेश कार्यालयको भवनको शिलान्यास गरेका थिए ।
यसअघि हेटौंडा उपमहानगरपालिकाले १६ चैत २०७९ मा महासंघलाई भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दिने निर्णय गरेको थियो ।। महासंघले उक्त जग्गामा कम्पाउण्ड वाल निर्माण गरिसकेको छ भने भवन निर्माण पनि अघि बढाएको थियो ।
भवन निर्माणका लागि आर्थिक सहयोग उठ्ने क्रम जारी थियो । एक्कासी जग्गा फिर्ताको निर्णयले क्षति पुगेको छ’, कार्यकारी निर्देशक मानन्धरले भने ।एक्कासी जग्गा फिर्ता लिने निर्णयपछि महासंघको बागमती प्रदेश समितिका कोषाध्यक्ष कविराज खत्री, कार्यकारी सदस्य जीवनकाजी माकजु श्रेष्ठ, कार्यकारी निर्देशक मानन्धर र महासंघको पूर्वकेन्द्रीय सदस्य राजकुमार न्यौपानेले सोमबार अपरान्ह नगरप्रमुख मीनाकुमारी लामालाई भेट गरेका छन् ।
मेयर लामाले महासंघलाई दिएको जग्गाको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि फिर्ता लिने निर्णय गरेको जवाफ दिएकी छन् ।महासंघको बागमती प्रदेश समितिले सुविधासम्पन्न कार्यालयसँगै बैठक कोठा र सभा सम्मेलन गर्ने स्थान, नवप्रवर्तन र स्थापित उद्यमीका लागि बिजनेस इन्क्युबेटर र एक्सेलेटरका स्थान पनि राख्ने भनिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाले आफ्नो कार्यालय पछाडि बागमती प्रदेश सरकारलाई दिएको जग्गा पनि फिर्ता लिएको छ ।उक्त जग्गा हेटौंडा उपमहानगरलाई नै आवश्यक रहेको हुँदा जग्गामा निर्माण हुने सभाहलको स्वामित्व र जग्गाको भोगाधिकार हेटौंडा उपमहानगरपालिकाको नै हुने गरी निर्माण सम्पन्न गरी हस्तान्तरण गरिदिन बागमती प्रदेश सरकारलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता सबिन न्यौपानेले बताए ।