काठमाडौँ । महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएको नेकपा एकीकृत समाजवादी प्रतिबद्धता अनुरूप केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल भएको छ । असार २१ गते महाधिवेशनस्थल प्रज्ञा भवनमा महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेका थिए ।कमरेडहरू हामी तपाईँहरूकै सुझावका आधारमा अबको १० दिन भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिन्छौ, यसमा तपाईंहरु ढुक्क हुनुस्’, अध्यक्ष खनालले भनेका थिए । एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान अनुमोदन गरेको छ ।
असार १६ देखि २० गतेसम्मलाई तय भएको महाधिवेशन असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेर सकिएको थियो । जसमा अध्यक्ष महासचिव र सम्मानित नेतामा पुरानै अनुहार क्रमशः माधवकुमार नेपाल, घनश्याम भुसाल र झलनाथ खनाल दोहोरिएका छन् । महाधिवेशनमा अध्यक्ष र महासचिव पदबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य मतदानमार्फत चयन गर्नुपर्ने अधिकांश महाधिवेशन प्रतिनिधिहरूको सुझावविपरीत सिङ्गो कमिटी नै सर्वसम्मत गर्ने नाममा नेतृत्व मतदानबाट पछि हटेको थियो ।

