सभामुखदेखि सांसदसम्म सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गरौं : गुरुङ
zeenepal
२०८२ बैशाख २३,
3
Shares
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बुद्ध जयन्तीको अवसर पारेर सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरू सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गर्ने प्रस्ताव गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले पर्यटन प्रवद्र्धनका लागि भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।देशका उच्च पदस्थहरू सबै एकैपटक ध्यान जाँदा त्यसको सन्देश विश्वभर फैलने र बुद्ध धर्मावम्बीहरू नेपाल आउने सम्भावना बढ्ने उनको भनाइ थियो ।
‘पर्यटन क्षेत्र असिम सम्भावना बोकेको क्षेत्र हो । आजबाट ६ दिन पछाडि बुद्ध जयन्ती पर्छ । ध्यान पर्यटन नै गर्ने भए हामी सबै सभामुख महोदय, राष्ट्रिय सभा अध्यक्षज्यू, प्रधानमन्त्री, मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीको दिनमा लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,’ गुरुङको प्रस्ताव छ, ‘बुद्धले गरेको ६ वर्ष हो, हामीले ६ घण्टामात्रै ध्यान गर्यौं भने पनि त्यो संसारभर सन्देश जान्छ । ओहो, नेपालमा बुद्ध जन्मेको ठाउँमा सारा सांसद, मन्त्री, प्रधानमन्त्री, सभामुख सबै ध्यान गरिरहेका छन् भन्ने सन्देश फर्किन्छ । त्यसपछि ह्वारह्वार्ती बुद्ध धर्मावम्बीहरू नेपाल आउने सम्भावना हुन्छ ।’