साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार हुनुपर्छ : परराष्ट्रमन्त्री राणा
zeenepal
२०८२ जेष्ठ ३०,
24
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन् । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौँमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा राणाले नेपाल–भारत बिच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारी लाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । नेपाल र भारतले दुई देशबिचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन् म एउटा यस्तो भविष्यको प्रतीक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।
नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरूबिचको जनसम्पर्क, सहकार्य र कनेक्टिभिटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने बताइन् । नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनको जोड थियो । उनले भनिन् “हाम्रा दुई देशबिचको निर्बाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा मात्र सहयोग गर्दैनन्, पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछन् ।
यसबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्नेछन् ।मन्त्री डा राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरूलाई साझा रूपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबिचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताउँदै मन्त्री डा राणाले नेपालको विशाल जलविद्युत सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका लागि उपयोगी हुने बताइन् आगामी दशकमा नेपालबाट १० हजार मेगावाट बिद्युत् आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल–भारत ऊर्जा सहयोगको प्रतिनिधित्व गरेको बताउँदै नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत् आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत् क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएका प्रसङ्ग पनि उनले उल्लेख गरिन् । मन्त्री डा राणाले भारतमा ठुलो मात्रामा डिजिटल सीप र नवप्रवर्तन रहेका र नेपालमा बढ्दो युवा र प्रविधि–प्रेमी जनसङ्ख्या रहेको प्रसङ्ग उल्लेख गर्दै भनिन् “हामीले पारस्परिक सहकार्यमा टेक हबहरू, स्टार्ट–अपहरू र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूलाई प्रवर्धन गर्नुपर्छ र हाम्रा युवाहरूलाई सँगै काम गर्न, प्रविधिको प्रयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्न दिनुपर्छ ।