काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन् ।सांसद ढुंगानाले डा. सुब्बाद्वारा प्रस्तुत कार्ययोजना र प्रस्तुतिको प्रशंसा गर्दै आधुनिक युगमा पुरानो शैलीबाट राज्य सञ्चालन र लोकतन्त्रको रक्षा सम्भव नभएको बताए । उनले आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गरी प्रविधिको उच्चतम प्रयोग हुनुपर्ने उल्लेख गरे ।
देशमा विद्यमान गरिबी र अशिक्षाका बाबजुद पनि प्रविधि अंगीकार गर्न कठिनाइ नहुने तर्क गर्दै उनले प्रविधिका बारेमा जनमानसमा रहेका भ्रमहरू चिर्नुपर्ने बताएका छन् । सुनुवाइ क्रममा सांसद ढुंगानाले भने, ‘मतदान प्रक्रियाका बारेमा जनतालाई भ्रममा पार्ने गलत भाष्यलाई आधुनिक प्रविधिमार्फत नै निरुत्साहित गर्नुपर्छ । यदि प्रविधिमा भनिएजस्तो धाँधली हुने भए अन्य देशका शक्तिशाली नेताहरूले सधैँ प्रविधिकै दुरुपयोग गरेर चुनाव जितिरहने थिए ।

