काठमाडौँ । भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् । भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास बन्द गराएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीका तर्फबाट आइतबार नै जारी गरिएको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।
कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् । भन्सार ऐन, २०६४ को दफा ६६ मा रहेको ‘कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको कामकारबाही प्रति निज व्यक्तिगत रूपमा जबाफदेही हुनेछैन’ भनिए पनि सुन प्रकरणमा व्यक्ति विशेषलाई जबाफदेही बनाइएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।

