सम्पत्ति शुद्धीकरण र टीआरसी विधेयक पास गरेर संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
zeenepal
२०८० कार्तिक १२,
15
Shares
काठमाडौं । संसदमा विचाराधीन विधेयक र संसदको चालु अधिवेशन अन्त्यको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अनौपचारिक संवाद गरेका छन् ।प्रधानमन्त्री प्रचण्डसँगको संवादपछि सभामुख घिमिरेले आइतबार बिहान सबै दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीका अनुसार आइतबार बिहानको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको विषयमा पनि छलफल भएको छ । चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका गुटरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेताहरुका अनुसार गुटरेसको सम्बोधनपछि केही बैठक राख्ने र संसदमा बिचाराधीन सम्पत्ति शुद्धीकरण विधेयक र टीआरसी विधेयक पास गरेर संसद अधिवेशन अन्त्य गर्ने सरकारको चाहना छ ।प्रधानमन्त्रीले सरकारको प्राथमिकता सभामुखसमक्ष राख्नुभएको छ । राजनीतिक दलहरुका बीचमा सहमति भए दुवै विधेयक पास भएपछि संसदको चालू अधिवेशन अन्त्य हुन्छ’, सभामुखसँगको संवादपछि प्रधानमन्त्रीको ब्रिफिङ सुनेका एक नेताले अनलाइनखबरसँग भने ।
माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सरकारले प्राथमिकतामा राख्दै आएको यी दुवै विधेयक अगाडि बढाउने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दलहरुसँग निरन्तर संवाद गरिरहेको बताउँछन् ।राजनीतिक तहमा वातावरण बनाएर सर्वसम्मत रुपमा सम्पत्ति शुद्धीकरण र टीआरसी जस्ता विधेयक अगाडि बढाउने प्रधानमन्त्रीको प्रयास छ । छिट्टै एउटा निष्कर्ष साझा रुपमा निस्कने विश्वास छ’, पाण्डेले भने ।महत्वपूर्ण विधेयकहरु पास गरेर अधिवेशन अन्त्य गर्ने र अर्को अधिवेशनका लागि अन्य विधेयकहरुका लागि गृहकार्य गर्ने चाहना सरकारले रहेको पनि माओवादीका मुख्य सचेतक पाण्डेले बताए ।
२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले दफावार छलफल गरेर विधेयकको प्रतिवेदन हाउसमा पेश गरिसकेको छ ।अब उक्त विधेयकको प्रतिवेदन उपर हाउसमा छलफल गरेर सिधै पास वा फेलको चरणमा लैजान सकिन्छ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा संशोधनका लागि सांसदलाई ७२ घण्टा समय हुने सहितको प्रक्रिया पूरा भएर पास भएर पुनः प्रतिनिधि सभामा आउनुपर्छ ।
राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधि सभाले स्वीकार वा अस्वीकार दुवै गर्ने अधिकार राख्दछ । स्वीकार गरेको खण्डमा सिधै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउन सकिन्छ भने अस्वीकार गरेको खण्डमा संयुक्त बैठक बसेर टुंगो लगाउनुपर्ने हुन्छ ।
२५ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसदीय विषयगत समितिमै छ ।प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको संसदीय उपसमितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन समितिको बैठकमा पेश गरेको छ ।समितिले उक्त विधेयकको प्रतिवेदनउपर छलफल सुरु गरेको छैन । समितिले टुंगो लगाएर प्रतिनिधि सभामा पेश गर्ने र प्रतिनिधि सभामा पनि छलफल भएर पारित गर्ने प्रक्रियामा अगाडि बढ्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।