टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दर्ता
zeenepal
२०८० मंसिर ४,
3
Shares
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ ।यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ ।त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ ।
धेरै नागरिकले टिकटकमार्फत सूचना पाइरहेको समयमा टिकटक प्रतिबन्धले सूचनाको हक हनन गरेको रिटमा दाबी गरिएको छ ।टिकटकमार्फत आफ्नो सिर्जनाको उद्यम गर्नेहरुको वौद्धिक सम्पत्ति लाखौं रुपैयाँको भएको र टिकटक बन्द गर्दा सम्पत्तिको हक पनि हनन भएको रिटमा उल्लेख छ ।
डिजिटल प्लेटफर्मलाई व्यवस्थित गर्न कानुन आवश्यक ठानेमा नेपालको संविधान, अन्तर्राष्ट्रिय मान्यता तथा प्रचलनको अधिनमा रही कानुन तर्जुमाको व्यवस्था मिलाउन पनि सरकारका नाममा निर्देशनात्मक आदेश माग गरिएको छ ।यसअघि शुक्रबार दर्ता भएका रिटको सुनुवाइका लागि सोमबारलाई तोकिएको थियो । तर सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटहरु हेर्न नभ्याइनेमा परेको छ । सोमबार दर्ता भएको रिटको पेशी भने मंगलबारका लागि तोकिएको छ ।